सामन्ती शैलीको एक झल्को


Muluha sha

गोरुको थलोमा बाँधेर तमसुकमा सही छाप !

जनकपुर । तस्वीरमा एकजना हजुरबालाई गोरु बाँध्ने किलोमा मोटो डोरीले टनटनी बाँधिएको छ । गम्छा बेरेको एक व्यक्तिले हातमा कागज बोकेर बूढा मान्छेका दुबै हात कुल्चिएको देखिन्छ भने अर्को व्यक्तिले बूढोमान्छेलाई दाम्लाले कसिरहेको देखिन्छ । छेउछाउमा अरु मानिस पनि छन् ।यो कुनै नाटकको दृश्य होइन । मधेसमा अहिले पनि १८ औं शताब्दीको जंगबहादुर राणाकालीन सामन्ती परिपाटी हटेको छैन भन्ने एउटा कुरुप घटनाको दृश्य हो यो । दसैंका बेला गोरु बाँध्ने थलोमा बाँधिने व्यक्ति धनुषा, परवाहा-२ निवासी ज्येष्ठ नागरिक ७० वर्षीय मुलहु साह हुन् ।




साहलाई आफ्नै भाइ र भतिजा मिलेर बाँधेका हुन् । बाँध्ने टोलीको नेतृत्व गर्ने शिवजी साह नेपाली कांग्रेसमा सक्रिय कार्यकर्ता हुन् । प्रत्यक्षदर्शीका अनुसार शिवजीले आफ्ना तिनैजना छोरा झगरु साह, मनोज साह र पप्पु साहको सहयोगमा आफ्ना बुढा दाजुलाई गोरुजस्तै बाँधेर कागजमा औंठाछाप गराएका छन् । 

दाजुसँग जग्गा माग्दै आएका उनले जग्गा हडप्नका लागि त्यसरी बाँधेर औंठाछाप गराएको बताइएको छ । दाजुलाई बाँध्ने शिवजी यसअघि स्थानीय निकायको निर्वाचनमा लड्ने गरेका र गाँउमा पञ्च भलादमीको भूमिका समेत खेल्ने गरेका कांग्रेस नेतासमेत हुन् ।

समाजकै अगाडि यत्रो अत्याचार हुँदासमेत शिवजीमाथि कारवाही हुन सकेको छैन । घटनाको तस्वीर र भिडियो प्रहरीसमक्ष पुगेपछि स्थानीइ प्रहरीले घटना भएको चार दिनपछि शिवजीका दुई छोरालाई पक्राउ गरेको छ । शिवजी र उनका एक छोरा मनोज भने फरार छन् ।

कांग्रेस कार्यकर्ता शिवजीले सुरुमा सभासद रामकृष्ण यादवको दबावमा औरही प्रहरी चौकीबाट घटनाको ढाकछोप गर्न खोजेका थिए । तर, स्थानीयको अग्रसरतापछि प्रहरीले उनीहरुलाई वारेन्ड काटेको हो ।

पीडित पक्षले सभासद यादवलाई घटनाको प्रमाणबारे जानकारी गराएपछि उनले प्रहरीलाई दबाव दिन छाडेको र पछि हटेको स्थानीयले बताए ।

मुलहुलाई बाँधेर औंठाछाप लगाएकोमा स्थानीय बल्वा पण्डितले रोक्न खोज्दा उनीमाथि पनि पीडक चारैजनाले दुर्वव्यवहार एवं हातपात गरेको भिडियोसमेत प्रहरीसमक्ष पुगेको छ ।

यद्यपि अहिले पनि कांग्रेस कार्यकर्ता भएकै कारण शिवजीलाई पक्रन र दोषीउपर कारवाही अगाडि बढाउन प्रहरीले ढिलासुस्ती गरिरहेको स्थानीयको गुनासो छ ।

फरार दुबैजना सीमावर्ती भारतको हरिनेस्थित अाफ्ना छोरी/ज्वाँइको घर रहेको तर, प्रहरी उनीहरुलाई पक्रन तदरुकता नदेखाएको स्थानीय बताउँछन् ।
२०७१ असोज २७ गते
-राजकमल सिंहबाट

Comments